Logo of Kathmandu Bible Institute And Research Center

Kathmandu Bible Institute

And Research Center

Admin

जीवनका महँगा क्रमभङ्गताहरु र एउटा नयाँ दिशा

Author Rajesh Budhathoki

Rajesh Budhathoki

[email protected]

Published at: July 12, 2024
Thumbnail of जीवनका महँगा क्रमभङ्गताहरु र एउटा नयाँ दिशा

हाम्रो जीवनको मुख्य समस्या भनेको कसरी हाम्रा जीवनमा हुने महँगा क्रमभङ्गता (अवरोध)हरुलाई लिन्छौं भन्ने हुन्छ — बनाइएका योजनाहरु बिग्रन्छन्, विवाह अथवा प्रेम असफल हुन्छ, आफूले चाहेकोजस्तो हुँदैन, मान्छेको व्यवहारहरु हामीप्रति नराम्रो बनिदिन्छ, हामी सताइन्छौं, घृणामा पर्छौं, शारीरिक तथा मानसिकरुपमा चोटमा पर्छौं । नसोचिएका घटनाक्रमहरु जसले हाम्रा योजना र आदर्शहरुलाई चुनौति दिन्छन् । यी नै जीवनको महँगा क्रमभङ्गता (अवरोध)हरु हुन्, जसले हाम्रो जीवनलाई आकार पनि दिएको हुन्छ ।

अमेरिकामा शोषण, दमन र दास प्रथामा फसेका अफ्रिकीहरुलाई स्वतन्त्र तुल्याउन अहिंसाको आन्दोलन गरेका डा. मार्टिन लुथर किङ जसलाई हत्या गरी मारियो, उनले यी जीवनका महँगा क्रमभङ्गता (अवरोध)हरुबारे आफ्नो नोटमा लेखेका थिए, जसलाई आफ्नो आगामी प्रवचनमा भन्न चाहन्थे । तर अफसोच कहिल्यै सो भन्न पाएनन्, उनको हत्या भयो ।

डा. मार्टिन लुथर किङ मात्र होइन, महात्म्य गान्धी, डिइट्रिक बोनहोफर र कैयौंको जीवन महँगा क्रमभङ्गता (अवरोध)हरुबीच भएर गुज्रियो, उनीहरु सबैको प्रेरणाको पुस्तक हो — बाइबल,  विशेषगरी मत्तीको पुस्तकमा भएको डाँडाको उपदेश । 
बाइबलमा भएको डाँडाको उपदेश इतिहासमा विश्वलाई नै नैतिक शिक्षा पढाउने एकमात्र पाठ हो । मत्तीको पुस्तक ५ अध्यायदेखि लिएर ७ अध्यायमा लेखिएको १०० वटामात्रै पदहरुले विगत र वर्तमानका ख्रीष्टियन र अख्रीष्टियनहरुको विचारहरुलाई परिवर्तन गर्ने ल्याकत राख्ने एकमात्र उपदेश हो । येशू ख्रीष्टद्वारा बताइएको यी उपदेशहरुमा “अरुको न्याय नगर, तिम्रो आफ्नै न्याय गरिनेछ, घर बालुवामा नबनाऊ, अरुलाई त्यही चीज गर जस्तो उसले तिमीलाई गरेको चाहन्छौ” जस्ता प्रमुख उपदेशहरु सामेल छन् ।

यी उपदेशहरु नयाँ नियममा येशू ख्रीष्टको पहिलो महत्वपूर्ण खण्ड मात्रै नभई दुई हजार वर्षअघिदेखि ख्रीष्टिय जीवनको प्रमुख मुल्य मान्यता, दर्शन र नैतिकताहरुलाई प्रतिधित्व पनि गर्दछ । यी अध्यायहरुमा येशूको दीप, चमक र शक्ति आज पनि गुञ्जिन्छ, जसले वास्तविक जीवनको एक दृष्टिकोण र जीवन जिउने तरिका प्रस्तुत गर्दछ र जोकसैलाई प्रेरित गर्दछ ।

डाँडाको उपदेश  स्थायी र शक्तिशाली प्रमाण बनेको छ । यी उपदेशहरुले हामीलाई आफ्नो कार्यहरुलाई तौलिन र ती कार्यहरुले हाम्रा वरपर अरुको जीवनमा पर्नसक्ने प्रभावहरुको मूल्याङ्कन गर्न चुनौति दिन्छ । इतिहास साक्षी छ कि यी उपदेशहरुले निरन्तर साहस र दृढ विश्वासको कार्य गर्न र युगौदेखि हामीलाई अरुको भलाई गर्न मानवीय करुणा सिकाउँछ ।

हामी मत्ती ५ अध्यायको १ देखि १२ पदलाई हेर्नेछौं । विशेषगरी २ पददेखि यसलाई सुक्ष्म अध्ययन गर्नेछौं । नेपाल बाइबल सोसाइटीको संस्करणले यो अध्यायको कुनै शीर्षक दिएको छैन । तर ESV संस्करणले यसलाई ‘बीएटीच्यूड्स अर्थात् परम् आनन्द, परमानन्द’ र म्यासेज संस्करणले यसलाई ‘युआर ब्लेस्ड अर्थात तपाईं धन्य’ भनेर भन्दछ । नेपाली बाइबलले ‘ब्लेस्ड’लाई ‘धन्य’ भन्ने शब्द चलाएको छ ।
मत्ती ५:१-१२ लेखिएको छ :

भीड़लाई देखेर उहाँ डाँड़ामा उक्‍लनुभयो, र उहाँ बस्‍नुभएपछि चेलाहरू उहाँकहाँ आए । उहाँले मुख खोल्‍नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्‍नुभयो — 
धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो । धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌ । धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌ । धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌ । धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌ । धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌ । धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌ । धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌ । तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए । 

यी पदहरुले पक्षताप गरी परमेश्वरको राज्यमा आउनेहरु र आएकाहरुलाई कसरी रहने र उहाँको आगमनलाई पर्खिनेबारे भन्दछ । १-६ पदले परमेश्वरको राज्यमा आउने र हुने हामीहरुमाझ त्यस्ता गुणहरुलाई प्रस्तुत गर्दछ जसबाट चिनिन अथवा चित्रित हुन आवश्यक छ र हाम्रा लागि आशीष र इनामहरुको घोषणा पनि गर्दछ । पदहरु १-६ ले परमेश्वसँग सही सम्बन्ध राख्नेहरुलाई धन्यको भन्दछ भने पद ७-१२ ले अरुसँग सही सम्बन्ध राख्नेहरुलाई धन्यको भन्दछ । ‘धन्य’ भन्ने शब्द यहाँ गहिरो आनन्द अथवा परमानन्द भन्ने हुन्छ, जस्तो कसैले कसैबाट कुनै दैवी कृपा प्राप्त गरेको छ । पद ३ मा, ‘आत्‍मामा दीन हुनेहरू’ भन्नाले आर्थिक गरिबीलाई भनेजस्तो लागेता पनि यहाँ परमेश्वरले आत्मिकरुपमा कङ्गालहरुलाई इङ्गित गर्न खोज्नुभएको छ, जोसँग परमेश्वरको राज्य प्राप्त गर्नका लागि चढाउन केही छैन ।

४ पदमा, ‘शोक गर्नेहरू’ भन्नाले खराब र कठिन संसारमा परमेश्वरको राज्यका निम्ति दुःख खेप्नेहरुलाई जनाउँदछ । जसको निम्ति प्रतिज्ञा के भन्दा कि उनीहरुले सान्त्वना पाउनेछन् । ५ पदमा, नम्रहरुले परमेश्वरमा भर पर्न पृथ्वीको अधिकारहरु पाउने बताइएको छ । ६ पदमा, धार्मिकताको निम्ति भोकाउनेहरुले मत्ती ५:२० पद भनेझैं स्वर्गको राज्य पाउनेछन् ।

यी उपदेशहरुले सामाजिक सम्बन्धहरुलाई केन्द्रमा राखेको छ । जस्तै,  ७ पदअनुसार दयावन्त हुनु भनेको दोषीहरुको लागि क्षमा र पीडितको लागि करुणा देखाउनु दुवै हो । ८ पदअनुसार शुद्ध हृदय हुनेहरु भन्नाले जो नैतिकरुपले निर्दोष, स्वच्छ, द्वैध चरित्र अर्थात् दोगलापन नभएको, अरुसँगको सम्बन्धमा मैलो नभएकोलाई जनाइएको छ । ९ पदअनुसार मेलमिलाप गराउनेहरु परमेश्वरका छोराहरु हुन्, परमेश्वरजस्तै तिनीहरुले अरुसँग मिलापका लागि प्रयासरत हुन्छन् । परमेश्वर स्वयंले मानिसहरुसँग मिलाप गर्नका लागि, शान्तिका लागि आफ्नो प्रिय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो ।

१० पद ३ पदसँग मिल्छ, धार्मिकताका निम्ति सताइनेहरु र आत्मा दीन हुनेहरु दुवैलाई स्वर्गको राज्य इनाम छ । धार्मिकताको खातिर जीवन जिउनाले सतावट अथवा अत्याचार आउँछ । तर ११-१२ पदमा येशू भन्नुहुन्छ कि, ‘मेरा खातिर वा मेरो लागि तिमीहरुमा सतावट अथवा अत्याचार आउनसक्छ’ भन्नुभएको छ । यो विशेष धार्मिकता जसको लागि कोही सतावट या अत्याचारमा पर्न सक्छ, जुन धार्मिकता येशूमा आधारित छ, उहाँमै विद्यमान छ । यही हो जीवनका महँगा क्रमभङ्गताहरु जसले हाम्रो जीवनलाई परिवर्तन गर्छ । येशूका यी उपदेशहरुलाई मनन गरौं कि कसरी येशूले हामीलाई यो संसारमा रहन भन्नुभएको छ ।